माेहित श्रीपाइली / भारत स्थित पलियाकाे बाढीले पुल बगाएपछि गौरीफन्टा र पलियाको आवतजावत ठप्प भएको छ ।
एक साता अघि भारतकाे शारदा नदीमा आएको बाढीले पलियास्थित एक पुलको उत्तरतर्फको सडक बगाए पछि कैलालीको दक्षिण पुर्वी क्षेत्र खक्राैलामा चहलपहल बढेको हो । नेपाल–भारत जोड्ने मुख्य राजमार्ग अन्र्तगतको पुल बगाए पछि भारत जाने र भारत बाट नेपाल आउने यात्रु खक्राैला नाकाकाे प्रयोग गर्ने गरेकाे स्थानीय रतन खत्रीले बताए ।
गौरीफन्टा नाका भएर भारतबाट आउने नेपाली खक्रौला नाका हुँदै भित्रिने गरेकाे उनलेे बताए ।
राजमार्ग अवरुद्ध बने पछि खाद्य तथा इन्धन लगायतका उपभोग्य सामग्री आपूर्तिमा समस्या भएको छ ।
नेपाल जोड्ने मुख्य राजमार्ग बगाए पछि लामो ताथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन । त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपाली बजारमा परेको छ । गौरीफन्टा नाका भएर भित्रिने सामानको अभाव भएको छ भने खाद्यान्न लगायतको मूल्य आकासिएको छ ।
एक साता देखि खाद्यान्न लगायत पेट्रोलियम पदार्थ ढुवानी हुन सकेको छैन । भारतीय सीमा बजार वनगाउँमा समेत खाद्यान्न लगायत सामानको अभाव देखिएको छ । व्यापारीका अनुसार, चिनीको मूल्य बढेर ६० बाट ८० सम्म पुगेको छ अन्य सामानको पनि मूल्य बढेको छ । सुदूरपश्चिम प्रदेशका लागि भारतको बन्थरा डिपोबाट गौरीफन्टा हुँदै धनगढीको डिपोमा इन्धन आयात हुने गरेको छ । नेपाल आयल निगमले भारतको बन्थरा डिपोबाट इन्धन ल्याउन सकेको छैन ।