सत्ति / टिकापुर नगरपालिले तिहारको समयमा प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको छ । नगरपालिकाले आज सूचना प्रकाशन गरी प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको हो ।
नेपाल सरकारले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचनालाई आधार मानेर प्लास्टिकजन्य पुष्पगुच्छा उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाइएको टिकापुर नगरपालिका नगर प्रमुखका स्वकीय सचिव लाेक बहादुर बुढाले बताए ।
सयपत्री फुल नपाएपछि विकल्पको रुपमा ग्राहकले प्लास्टिकका फूल प्रयोग गर्दै आए पनि त्यसले स्वास्थ्यमा मात्र नभई वातावरणमा समेत असर गर्ने भएकाले तिहारमा बिक्रीवितरण तथा प्रयोग नगर्न विज्ञप्तिमार्फत नगरवासीलाई आग्रह गरिएको छ । स्वकीय सचिव बुढाले पछिल्लो समयमा सयपत्री फूलखेती स्थानीय पुष्प व्यवसायीले गरेको र फस्टाउँदै पनि गएकाले तिहारमा फूल अभाव नहुने पनि बताए ।
नगरपालिकाले तिहारको समयमा पटकाजन्य वस्तु ओसारपसार, बिक्री तथा पड्काउन समेत रोक लगाएको भए अझै राम्रो हुने स्थानीयवासिकाे भनाइ छ ।