यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जना जवान प्रहरीको हिरासतमा मृत फेला परेका छन्।
दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
प्युठानको वडडाँडा घर भएका मगर आफ्नै गञ्जी र टिर्सटको पासोमा झुन्डिएको अवस्थामा शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले सेतोपाटीलाई बताए।
शौचालयमा बिहान पाँच बजेतिर उनी मृत अवस्थामा फेला परेका थिए।
स्थानीय एक जना ८ वर्षीया र अर्की १४ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी कात्तिक ७ गते पक्राउ परेका थिए।
उक्त घटनामा सशस्त्र प्रहरीका जवान मगर र सहायक हवल्दार भरत रोका मगरलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएको थियो।
असोज २४ गते बेलुकी ज्वालामाई गण नजिकै पिङ खेल्न गएका दुई बालिकामाथि अपरिचित व्यक्तिहरूले बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।
लामो समय अनुसन्धान गर्दा पनि प्रहरीले कुनै सुराक फेला पार्न सकेको थिएन। घटनाको विरोधमा स्थानीयले भालुबाङ बजार बन्द गराउनुका साथै ज्वालामाई गण घेराउसमेत गरेका थिए।
त्यसको दोस्रो दिन नै सशस्त्र प्रहरीले आफै घटना अनुसन्धान गरी बालिकामाथि बलात्कार वा यौनजन्य हिंसा गरेको आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको थियो।