खक्राैला / सीमा स्तम्भ जोखिममा पर्न नदिनका लागि सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन कार्यको सुरुवात गरेको छ।
बिहीबार टिकापुर ८ खक्राैला स्थित नेपाल– भारत दशगजामा रहेको सहायक सीमा स्तम्भ नं. ७०३/२ ,१०४ सि बाट सीमा स्तम्भ मर्मत सम्भार कार्यको सुरुवात गरेको हो।
‘सीमा सुरक्षा बहुआयमिक विषय भएको र सीमा सुरक्षाको असली पहरेदार सीमावासी नै रहेको हुँदा उनीहरुको सहयोग लिएर सीमा सुरक्षा प्रभावकारी बनाउन स्तम्भको मर्मत र रंगरोगन थालिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गाेगन बहादुर हमालले भने। सशस्त्र प्रहरीले बेजोड नम्बरका पिलरकाे मर्मत सम्भार र रंगरोगन थालेको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गुल्मका गुल्मपति दल बहादुर पाण्डेले बताए।
सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार कार्यमा भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) प्रमुख रेक्जिन एन चोक, सशस्त्र प्रहरी बल३४ नम्बर गुल्मका गुल्मपति दलबहादुर पाण्डे, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदम विष्ट, इलाका प्रशासन कार्यालय टीकापुरका कृष्ण थापा, टीकापुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख लालविर चौधरी,वडाअध्यक्ष दीर्घ ठकुल्ला, लौटन चौधरी संचारकर्मि लगायतको उपस्थिति थियो ।
टीकापुर नगरपालिकाभित्र मुख्य सात वटा सीमा स्तम्भ र अन्य सहायक स्तम्भ रहेका छन् । सन् २०१८ मा सम्पन्न नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको पाँचौं बैठकमा सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा स्तम्भ मध्ये जोर नम्बरको स्तम्भ भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत गर्ने निर्णय भएको थियो। जसमा वि. सं.२०७७ साउन १९ गते नेपाल सरकार मन्त्रि परिषद्को निर्णयबाट सशस्त्र प्रहरी बल नेपाललाई सीमा स्तम्भ मर्मत गर्ने जिम्मा दिएको थियो।
सोही निर्णय अनुसार पहिलो पटक अन्तर्राष्ट्रिय सीमा स्तम्भहरुको निर्माण, मर्मतसम्भारको जिम्मा सशस्त्र प्रहरी बल नेपालले प्राप्त गरी कैलालीका नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा रहेको १०१ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्न लागिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म खक्राैलाका गुल्मपति डिएसपी पुर्ण चन्दले बताए ।