नेपालगन्जको बसपार्कमा बसभित्र लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज बसपार्कमा काठमाडौंतर्फ जाँदै गरेको बसभित्र लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ६/७ जनाको समूह बसभित्र प्रवेश गरी यात्रुहरुलाई डर–धम्की देखाउँदै हातपातसमेत गरेका थिए। उनीहरूले करिब ६० हजार रुपैयाँ नगद, मोबाइल तथा अन्य सामान जबरजस्ती लुटेर फरार भएका थिए।
घटनापछि प्रहरी टोलीले तीमध्ये ४ जनालाई नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेकाहरूको साथबाट पेस्तोल र खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।



समाचार 