सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल बनेको छ। भिडिओ हो, कुकुरले चिता पछ्याउँदै अन्तिम समयसम्म मालिकको साथ निभाएको। नेपाली समाजमा एउटा मान्यता छ, ‘आफन्तले साथ छाड्छ तर कुकुरले छाड्दैन।’ हो, यो कुकुरको घटनाले यसलाई थप पुष्टि गरेको छ।
घटना भदौ २५ गते शनिबारको दिनको हो। कैलालीको लम्कीचुहा नगरपालिका–५ की हैरानी चौधरी क्यान्सरका कारण शनिबार बितिन्। हैरानीले घरमा एक सफी नामको कुकुर पालेकी थिइन्। हैरानीले आठ वर्षअघि बेवारिसे छाउरो घरमा ल्याएर पालेको कुकुरलाई सफी नाम दिएकी थिइन्। सफीलाई मृतक हैरानीले माया गरेर हुर्काएकी थिइन्। कुकुरसँग उनको सम्बन्ध आफ्ना सन्तानजस्तै प्रगाढ थियो। उनीहरु सँगै बस्ने, खाने गर्थे। हैरानी चौधरीले जता गए पनि कुकुरलाई छाड्दैन थिई।
जब हैरानी चौधरी बितेर उनको शव घरमा राखियो। तब भने कुकुर निराश बन्यो। सामान्यतः कुकुर–बिरालोलाई शव छुन नदिइने नेपाली समाजको चलन छ। तर, सफीले मृतक चौधरीलाई घेरेर बस्यो। उनको साथ छाड्नै मानेन। सफी हैरानीको शवको छेउछाउमै बसिरह्यो। मलामीले उनलाई धपाउन प्रयास गरे तर, मानेन। त्यसपछि परम्पराअनुसार चौधरीको शवलाई उनी सुतेकै पलङमा राख्ने तयारी भयो। तर शव राख्नुअघि नै उक्त कुकुर पलङमा बसिदियो।
छिमेकीले कुकुरलाई त्यहाँबाट पनि लखेट्न खोजे। कुकुर त्यहाँबाट भागेन। त्यसपछि मलामीले कुकुरलाई समातेर नजिकैको रुखमा साङ्लोले बाँधे। ‘रुखमा बाँधेपछि पनि साङ्ला नै चुडाउँला झैं गरेर कराउन थाल्यो,’ हैरानी चौधरीका कान्छो छोरा अनन्तलाल भन्छन्, ‘पलङमा राखेर गरिने संस्कार सकेर शवलाई ट्याक्टरमा चढाउर घाटतिर लाग्यौं। तर केही पर नपुग्दै कुकुर साङ्लाबाट फुत्किएर दौडिंदै हामीलाई पछ्याउन थाल्यो।’
ट्याक्टर पछ्याउँदै सफी करिब पाँच किलोमिटरसम्म दौडिरह्यो। मुख्य सडकमा अरु गाडी पनि कुदिरहेको थियो। तर सफीले सोही ट्रकलाई मात्र एकोहोरो पछ्याइरह्यो। कुकुरले पिछा नछोडेपछि मलामीले उनलाई पनि ट्याक्टरमै राखे। ट्याक्टरमा कुकुर हैरानी चौधरीकै शवको छेउमा बसेको थियो। हैरानी चौधरीको मृत्युमा आफन्तलाई भन्दा बढी पीर कुकुर परेको दृश्य त्यहाँ देखिएको मलामीले बताएका छन्।
कर्णालीको घाटमा हैरानीको दाहासंस्कार गरिएको थियो। त्यहाँ पनि कुकुर चितामा चढ्यो। र शवसँगै लमतन्न परेर बसिरह्यो। कुकुरलाई हटाउँदा चिता भत्कियो। दाउराले कुकुरलाई चोट लाग्यो। तर ऊ पछि हटेन। चितामा बसेपछि मलामी पनि भावुक भएका थिए। त्यसपछि कुकुरलाइृस समातेर हैरानीको लास जलाइएको थियो। शव जलिसकेपछि पनि कुकुर चिता वरिपरि घुमिरहेको थियो।
सफी नामको उक्त कुकुरले शवको पछि लागेको र चितामा बसेको भिडियो टिकटकमा अहिले भाइरल भएको छ। उक्त कुकुरले दर्शाएको प्रेम अहिले चर्चित बनेको छ। साभार : दिनेश खबर