सत्ति / आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन्।
आजको दिनमा शक्तिपीठमा भने शङ्ख, घण्ट र देवी स्तोत्रको गुञ्जनसँगै भक्तजनको भीड छ ।
महाअष्टमिका दिन शक्तिपिठमा बलि सहित विशेष पूजाआराधना गरिने भएकाले पनि नवरात्रका अरु दिनभन्दा आज बढी भीड देखिएको हो।
राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, बगलामुखी लगायत मन्दिरमा भक्तजनको भीड छ ।
यसैगरी उपत्यका बाहिरका देवीमन्दिरमा पनि भक्तजनको भीड बढेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडीमालिकालगायत मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । यी देवी मन्दिरमा बलिसहित आजका दिन विशेष पूजा हुने गर्छ ।नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
दसैँमा करिब २० लाख मानिस राजधानीबाट बाहिर गएको अनुमान गरिएको छ ।
विगतका दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजाआराधना गर्न आह्वान गरिएको थियो । यसवर्ष भने कोरोनाको जोखिम कम भए पनि डेंगुको त्रास बढेको छ । यसवर्ष डेंगुबाट सुरक्षित भएर दसैँ मनाउन प्रशासनले आह्वान गरेको छ ।
वर्षासमेत नरोकिएको र जमेको पानीमा डेंगु फैल्याउने लामखुट्टे पाइने भएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आह्वान गरेको हो । दसैँमा खानपानमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञको अनुरोध छ ।