सत्ति / आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलले गाउँ गाउँमा चुनावीसभा गर्न थालेका छन् । कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायत राजनीतिक दलले अहिले गाउँ गाउँमा चुनावी सभालाई तीव्रता दिएका हुन् । किसानलाई खेतमा भ्याइ नभ्याइ भएको बेला उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
उनीहरु मतदाता रिझाउन गाउँमा चुनावीसभा संगै घरघर र खेतमा गएर किसानलाई सघाईरहेको तस्बीर सामाजिक सञ्चालनमा सार्वजनिक भईरहेको छ । उम्मेदवार लाई आफ्नो पक्षमा मत माग्न गाउँगाउँमा मतदाता लाई भेटघाट, भेला गर्ने, निर्वाचन परिचालन समिति बनाएर पालिका, वडा र टोलस्तरमा चुनावी कार्यक्रम गर्ने अभियान चलाएका छन् । उम्मेदवार घरदैलो भेटघाटका साथै चुनावी अभियानमा आफ्ना एजेण्डा सुनाउने, मतदाता शिक्षालाई पनि तिब्रता दिएको देखिन्छ ।