सत्ति / कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी निर्वाचित भएका छन् ।
आफ्नो निकटतम प्रतिद्वन्द्वन्दी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माअोवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी (कुन्दन)लाई पाँच हजार ३७१ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । उनले २३ हजार १२० मत प्राप्त गरेका छन्, भने कृष्णकुमार १७ हजार ७४९ मतमा सीमित भए ।
एमालेका उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरी नौ हजार ८७४ मतका साथ तेस्रो स्थानमा रहे । एक लाख ७ हजार ६५ जना मतदाता रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ५९ हजार ७१९ मत सदर भएको छ भने, चार हजार २१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचित भएपछि उनले थारु समुदाय माथि राज्यबाट भएको अन्याय र निर्वाचित भएको क्षेत्रको समग्र विकासको लागि लड्ने प्रतिवद्धता जनाएका छन् ।
थरुहट आन्दोलन तथा टीकापुर घटनाको पृष्ठभूमिबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै उनले भने, ‘हामी न्यायको लागि चुनावमा होमिएका थियौ । टीकापुर राजबन्दी रिहाइको लागि हो । दोस्रो विकास र समृद्धि हो । हामीलाई राज्यले न्याय नगरेपनि आमजनताले न्याय गरेका छन् । आमजनताप्रति हामी आभारी छौ । अब सिंगो हाम्रो पार्टी र मेरो प्रमुख अभिभारा टीकापुर घटनासँग सम्बन्धित लाल आयोग सहितको सबै प्रतिवेदन खोजेर सार्वजनिक गराउने हो । टीकापुर राजबन्दी रिहाइको लागि सरकार लाई दवाव दिनु प्रमुख एजेण्डा हो ।
यतिमात्रै होइन, राजनीतिक अधिकार प्राप्तिको लागि पनि हामी चुक्ने छैनौ ।’ उनले आफ्नो निर्वाचन क्षेत्र बाढी प्रभावित क्षेत्र रहेको बताउँदै अब लगत्तै आफूले यहाँका समस्या र सम्भावनाबारे आमनागरिक सँग सुझाव संकलन गर्ने र त्यसको आधारमा पाँच वर्षे गुरुयोजना बनाइ काम गर्ने बताए ।
उनले भने, ‘मेरो गाउँ नै प्रत्येक वर्षको बाढीले डुबानमा पर्छ । म आफै पीडित र भुक्तभोगी हुँ । वर्षातमा मेरो गाउँको गल्लीमा हिड्ने मान्छेहरु भन्छन्, जुन मान्छेको मगज बिग्रेको होला, उही मान्छेले यो गाउँमा आफ्नो बेटीको बिहे गर्ला । जुनकारण यो समस्या समाधानको लागि आवाज उठाउने छु ।’
यहाँका किसान, मुक्तकमैया, लोपोन्मुख जाति, समुदायलगायको उत्थानको लागि पनि काम गर्ने उनको भनाइ छ ।
को हुन् गंगाराम चौधरी ?
कैलालीको भजनी २ मोहनपुरमा बुवा फुलराम डंगौरा थारु र आमा राजदेवी डंगौरा थरुनीको कोखबाट जन्मिएका ४४ वर्षीय गंगा चौधरी राजनीतिमा भने, २०७४ को निर्वाचनदेखि अग्रपंक्तिमा देखिदै आएका छन् ।
उसो त २०७४ को निर्वाचन भन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउनमा भूमिका खेलेका थिए । २०७४ को निर्वाचन भन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउनमा अहम भूमिका खेल्दै हाल उनी नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् ।
२०७४ को निर्वाचन अभियान सम्झिदै गंगा चौधरी भने, ‘२०७२ देखि थरुहट आन्दोलनमा सक्रिय भूमिका थियो । २०७४ को निर्वाचनमा रेशम जिताउ अभियान चलायौं । प्रवासमा रहेका रेशम दाइकोे भिडियो बनाइ निर्वाचन क्षेत्रमा प्रोजेक्टर मार्फत प्रचार प्रसार गरियो । यहाँसम्म कि मधेशवादी दलले हाम्रो मुद्दालाई सत्ताको भ¥याङ बनाएपछि पार्टी खोल्नुपर्छ भन्ने भूमिका खेल्ने र रेशम दाइलाई सुझाव दिनेमा म नै हो ।’निम्न परिवारमा जन्मिएका उनी पाठ्यक्रम विषयमा स्नाकोत्तरसम्मको शैक्षिक उपाधी हासिल गरेका छन् ।