थाइल्यान्डको सीमानजिकै रहेको कम्बोडियाको पोइपेटस्थित एक क्यासिनोमा भीषण आगलागीमा परी झापा बिर्तामोड–१ का ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा बिहीबार रातिको घटनामा उनीसहित २४ जनाको मृत्यु भएको हो ।
उक्त घटनापछि एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घटनास्थलमा पुगेका छन् । अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली दूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले कान्तिपुरलाई बताए । उक्त क्यासिनोमा केही नेपालीहरू पनि कार्यरत भएको तर उनीहरूको अवस्थाबारे अझै थप विवरण नआएको जनाइएको छ ।
‘बैंककस्थित नेपाली दूतावासका प्रथम सचिव खगराज पाण्डेयलगायत व्यक्ति घटनास्थल आउनुभएको छ । उहाँहरूको समन्वयमा पाण्डेको शव नेपाल पठाउने तयारी गरिरहेका छौं,’ उनले भने । पाण्डेले मृत्युअघि परिवारलाई भाइबरमार्फत भिडियो कलमा आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । आफू १२ औं तलामा रहेको र अब हाम फाल्नुको विकल्प नरहेको बताएका थिए ।
बिर्तामोड–१ घर भई हाल काठमाडौं सुकेधारा बस्दै आएका पाण्डे परिवारसँग नयाँ वर्ष मनाउन शनिबारसम्म काठमाडौं आइपुग्ने तयारीमा थिए । यसका लागि कम्बोडियामा महिना दिनसम्म गरेका कामको जिम्मेवारी एक जना श्रेष्ठ थरका साथीलाई जिम्मा लगाएको खबर परिवारलाई गरेका थिए ।
‘बुधबार दिउँसो मसँग कुराकानी भएको थियो । निराकारले आइतबार परेको न्यु इयर परिवारसँगै मनाउने गरी भोलि वा पर्सि काठमाडौं आइपुग्छु भनेर भनेका थिए,’ साथी दिनेश सिलवालले भने । निराकारको मृत्युको खबरले परिवार शोकाकुल छ । भाइ निश्चललाई सबैले सोधिरहेका छन्, ‘शव कहिले आइपुग्छ ?’ उनीसँग कुनै जवाफ छैन । बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका माइला छोरा हुन् निराकार ।
परिवारजनका अनुसार भिजिट भिसामा करिब एक महिनाअघि निराकार थाइल्यान्ड गएका थिए । थाइल्यान्डबाट उनी कम्बोडिया पुगेका हुन् । व्यापारिक प्रयोजनका सिलसिलामा उनी थाइल्यान्ड हुँदै कम्बोडिया गएको परिवारले जनाएको छ । क्यासिनोमा आगो लागेपछि निराकारले राति १० बजेतिर काठमाडौंमा पत्नी शशीकला लोहनीलाई भिडियो कल गरेर जानकारी गएका थिए । निराकारका बाबु अग्नि गत वैशाखमा दोस्रो कार्यकालका लागि बिर्तामोड–१ को वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।