सत्ति / टीकापुर नगरपालिका वडा – ९ स्थित सत्ति भन्सार कार्यालय खक्राैलाले गएको छ महिनामा पनि लक्ष्य अनुसारको भन्सार राजश्व असुली गर्नसकेको छैन ।
यो आर्थिक वर्ष २०७९/०८० सुरु भए देखी नै कुनै पनि महिनामा लक्ष्य अनुसारको राजश्व उठाएको छैन । गत आर्थिक बर्षको तुलनामा यो आर्थिक वर्षमा प्रतिशतका हिसाबले सबैभन्दा कम राजश्व उठने बर्ष हुने सम्भावना तथ्यांकले देखाएको छ ।
यो आर्थिक बर्ष २०७९/०८० को भन्सार असुली रेकर्ड तथ्यांक यस्तो छ :
आर्थिक वर्षको पहिलो साउन महिनाको लक्ष्य १ करोड ७ लाख ८० हजार भए तापनि ४७ लाख ४ हजार २३५ रुपैयाँ भदौमा १ करोड ४० लाख १९ हजार लक्ष्यमा २४ लाख ४ हजार २३५ रुपैयाँ असाेजमा १ करोड ३९ लाख ८५ हजार लक्ष्यमा १ करोड १४ लाख ८३ हजार १६० रुपैयाँ कार्तिक मा १ करोड ३३ लाख ६२ हजार लक्ष्यमा ३२ लाख ९९ हजार ९२२ रुपैयाँ ,मंसिरमा १ करोड ३८ लाख ९१ हजार लक्ष्यमा २४ लाख ३९ हजार १६१ रुपैयाँ पुसमा १ करोड ४८ लाख ५९ हजार लक्ष्य मा ८१ लाख ५० हजार ५३९ रुपैयाँ असुली भएको र माघ महिनामा १ करोड ४३ लाख ९६ हजार लक्ष्य रहेकोमा माघ १५ गतेसम्म १३ लाख १९ हजार ३३३ रुपैयाँ राजस्व असुली गरेको तथ्यांक रहेको छ ।
प्रतिशतकाे हिसाबले साउनमा लक्ष्यकाे ४४% भदौ मा १७% असाेजमा ८२% कार्तिकमा २५% मंसिर मा १७% पुसमा ५४% मात्र राजस्व असुली भएको देखिन्छ । यस आर्थिक वर्षमा भन्सार कार्यालयले १६ करोड ९४ लाख ४२ हजार राजस्व असुली गर्ने लक्ष्य रहेको छ ।
किन राजश्व कम उठयो ?
यो आर्थिक बर्षमा भन्सार छलीका घटना बढेकाे देखिन्छ । सिमा नाका बाट मिलेमतोमा भन्सार छलेर ल्याईएका सामान क्यारिङ मार्फत सम्बन्धीत ठाउँमा लिने गरिएको विभिन्न घटनाले पुष्टि गरेको छ ।
मिलेमतोमा संस्थागत तस्करीका सामान नेपालमा ल्याएर विभिन्न बजारमा पुग्ने गरेको देखिन्छ ।
क्यारिङ मार्फत जिल्लाका विभिन्न ठाउँमा पुगाउने काम जिम्मेवार निकायका कर्मचारिको गैरजिम्मेवारी कदम बढेर गएको अवस्था रहेको देखिन्छ ।
भन्सार लगायतका सराेकार राख्ने एक आपसमा समन्वयको अभावले पनि राजस्व संकलनमा कमि भएको देखिन्छ । भन्सार छलीका घटनामा संलग्न ब्यक्तीलाई कार्बाही नगरी समान जफत गरि मिलेमतोमा छाडने छोडाउने कार्य बढेको हुनाले पनि कमि भएको देखिन्छ । भन्सार कम हुनुमा भारतीय कस्टम अफिसमा नेट धेरै बिग्रनु, माेहना नदिमा पानीको सतह कम हुनु पनिकारण भएको सत्ति भन्सारका कर्मचारी बताउँछन् ।
भन्सार नतिरेरै गेटबाटै भित्रीन्छ सामान : सत्ती भन्सार कार्यालय खक्रौलाको मूल गेटबाटै सामान भित्रीने गरेको तथ्य बाहिर आएको छ। भारतीय बजारबाट सामान ल्याएर भन्सार शुल्क नतिरेरै मूल गेटबाटै पास भएको सामान समातिए पछि यो रहस्य खुलेको हो ।
बुधबार बेलुका पौने ८ बजेतिर खक्रौला भन्सारकै बाटो भएर आएको ट्याक्टरको ट्रलीमा विना भन्सारको मार्बल र टायल प्रहरीले पक्राउ गरेको थियो। भन्सारका कर्मचारीको मिलेमतोमै भन्सार नतिरेरै गएको ट्याक्टरलाई केही माथि रोकेर छानबिन गर्दा कालाकुण्डा प्रहरीले मार्बल र टायल सहित पक्राउ गरेको हो। मार्बल र टायल सहित पक्राउ परेको भे २ त ७९८ नं को ट्याक्टर सँगै अन्य ३ वटा ट्याक्टरमा ३० लाख भन्दा बढी मूल्यका टायल र मार्बल अवैधरुपमा भन्सार गेटबाटै भित्रिएकाे दावी गरिएको छ। ती सामान बर्दियाको राजापुरका एक हार्डवेयर सञ्चालकको भएको र त्यो भन्दा अघि ३ ट्याक्टर पनि पास भएको बताएकाे छ ।
‘भन्सारको गेटमै दुई जना पिएन बसेका थिए,भने सुब्बा नजिकैको होटलमा खाना खाँदै गरेको एक स्थानीयकाे भनाइ छ । यश बारेमा भन्सार विभागले ड्युटीमा रहेका कर्मचारीलाई अनुसन्धानका लागि विभाग तानेको एक स्रोतले बतायो ।
यो भन्दा पहिले रातिको समयमा भन्सार अगाडि बाट र अन्यत्रबाट चाेरि छिपि दिउँसै हाकाहाकी रुपमै अवैध सामान भित्रिने गरेको स्थानीयकाे आराेप छ । भन्सार नतिरेरै सामान टीकापुर, लम्की तथा बर्दियाको सम्म जाने गरेको स्थानीयकाे दावी छ । भन्सार कार्यालय अघि बाटै राजश्व नतिरेरै मार्बल र टायल बोकेका चार ट्रलीसहितको ट्याक्टर पास भए पनि नेपाल प्रहरीले एउटा मात्रै अवैध सामान सहितको ट्याक्टर पक्राउ गर्न सकेको हो।
अन्य ३ ट्याक्टर भने अगाडि नै गइसकेका थिए।’ ३ वटा ट्याक्टरमा के कति सामान गयो भन्ने एकिन भएको छैन तथापि ३ वटा ट्रयाक्टर भने गएको देखिन्छ एक कर्मचारीले भने । अन्य तीन वटा ट्याक्टरमा करिब ३० लाख भन्दा बढी मूल्यका सामान भएको जनाइएको छ ।
नेपाल प्रहरीले सामान शसस्त्र प्रहरीको नजिकै बाट समाएर भन्सार बुझाउने गरेता पनि शसस्त्रले भने अवैध सामान समाउन सकेको देखिँदैन ।कर्मचारी सँगको मिलेमतोमै चार ट्रलीसहितका चार ट्याक्टरमा मार्बल र टायल भित्रिएको स्रोत बताउँछ। बेलुकीको समयमा सुब्बा र दुई जना कार्यालय सहयोगी ड्युटी रहेकै समयमा सामान भित्रिएको स्विकार्दै खक्रौला भन्सार कार्यालयका एक कर्मचारीले भने । ट्रयाक्टर कर्मचारीले नहेरेरै छोडिदिएका रहेछन् उनले भने ।ट्याक्टरमा लोड भएको २ लाख ६४ हजार ९ सय रुपैयाँ बराबरको मार्बल र टायल रहेको सत्ति भन्सारका निमित्त कार्यालय प्रमुख तुलसीराम थारूले बताए।
यस अघि गत पुस १ गते साँझ सत्ती भन्सार कार्यालय खक्रौलाका तत्कालीन कार्यालय प्रमुख विमल कुमार साह आफैले विना भन्सार सामान भित्र्याएका थिए। उनले भारतीय बजारबाट आफ्नै सरकारी गाडीमा भन्सार छली गरेर एसी ल्याएको अवस्थामा कार्यालय प्रमुख साहलाई कार्यालय परिसरमै फेला पारिएको थियोे । उनले सरकारी नम्बर प्लेटको गाडीमा ४ थान एसी ल्याएको अवस्थामा कार्यालय परिसरमै फेला पारेका थिए। दुई देशीय कस्टम बैठकमा सहभागी हुन भारत गएका साहले त्यहाँबाट एसी लिएर आएका थिए। एसी विवाद पछि कार्यालय प्रमुख साह सरुवा भएर काठमाडौं गैसकेका छन् ।
पछिल्लो समयमा सुदुरपश्चिम प्रदेशका नेपाल प्रहरीका डिआइजि अशोक सिंहले सिमानाका बाट हुने तस्करीमा कडाइ गरे संगै अवैधरुपमा सामान आयात गर्ने व्यापारी पनि भन्सार बनाएर सामान ल्याउने क्रम बढेको देखिन्छ ।
डिआइजि सिंहको यहि रफ्तार अझै एकदुई महिना गएमा पछिल्लो छ महिनामा उठ्न नसकेको राजस्व आगामी छ महिनामा उठ्न सक्ने दावी एक व्यापारीले गरे ।