टीकापुर/ टीकापुर सरोकार समुहले टीकापुरमा पठन संस्कृतिको प्रबर्द्धन गर्न स्थापना गरेको मासिक उत्कृष्ट पाठक पुरस्कार माघ महिनाको लागिमनिषा रावललाई प्रदान गरेको छ ।
वीरेन्द्र विद्यामन्दिर क्याम्पस टीकापुरमा अध्ययनरत छात्रा रावललाई माघ महिनाको उत्कृष्ट पाठकका रुपमा नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । नागरिकमा पठन संस्कृति को विकास गर्ने उद्देश्यले टीकापुर सरोकार समूहले टीकापुर पुस्तकालयको समन्वयमा गत मंसिर देखि हरेक महिनाका उत्कृष्ट पाठकलाई पुरस्कार दिँदै आएको छ ।
पुरस्कृत रावलले पुस्तकालयले आफूलाई शान्त वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गरेको बताउँदै प्राप्त पुरस्कारले लोकसेवाको तयारी गर्न मद्दत पुग्ने बताइन ।
‘आफूले पढेर ज्ञान पनि पाइने अनि पुरस्कृत पनि हुँदा खुशी लागेको छ’ रावलले भनिन् ‘घरमा अध्ययन गर्ने वातावरण नभएका कारण म हरेक दिनजसो पुस्कालयमा आएर लोकसेवाको तयारी गरिरहेको छु ।’
उत्कृष्ट पाठक रावललाई पुस्तकालयका पूर्व अध्यक्ष धनञ्जय तिमिल्सेना ,पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी र सरोकार समूहका कोषाध्यक्ष परमानन्द पाण्डेले पुरस्कार प्रदान गरेका हुन् । सरोकार समुहको तर्फबाट माघ महिनाको पुरस्कारको सौजन्य दुबईमा कार्यरत समूहका सदस्य तर्क कुँवर र शेरबहादुर कुँवरले आफ्ना स्व. पिता गगनसिंह कुँवरको स्मृतिमा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका पूर्व अध्यक्ष तिमिल्सेनाले पुरस्कार दिने कार्यक्रमले आम नागरिकमा अध्ययन गर्नुपर्छ भन्ने भावना विकास हुने बताए ।
‘यसले विद्यार्थी र पाठकलाई पुस्तकालयसम्म आउनका लागि प्रेरणा दिन्छ’ तिमिल्सेनाले भने ‘यो संस्कार हरेक घरपरिवारले आफ्ना बालबालिका लाई सिकाउन जरुरी छ ।
पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष उदयराम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । पुस्तकालयका सचिव देबेन्द्र शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत धर्मचन्द्र शर्मा ले गरेका थिए ।