कोशी अस्पतालका पूर्वमेसु डा. तपेश्वरलाल कर्णले अविवाहित जोडीबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर नि:सन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको खुलासा भएको छ ।
उनी लामो सयमदेखि यस्तो कार्यमा सक्रिय रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । अविवाहित प्रेम जोडीबाट जन्मिएकी शिशुलाई अस्पतालबाटै बेपत्ता गरेको आरोपमा चार दिनदेखि उनी प्रहरी नियन्त्रणमा छन् ।
वरिष्ठ स्त्री रोग विशेषज्ञ ६८ वर्षीय डा. कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अविभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर नि:सन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ । कोसी अस्पताल स्रोतले डा. कर्णले त्यस्ता शिशुलाई कम्तीमा एक लाखदेखि पाँच लाखभन्दा बढी रकमसम्म लिएर नि:सन्तान दम्पतीलाई बिक्री गर्दै आएको पुष्टी गरेको छ ।
अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेमजोडीसँग डा. कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । नर्स स्तरका केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको स्रोतले भनेको छ । त्यस्ता जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अविभावकबाटै रकम लिएर डा. कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।