चाडपर्व हाम्रा गौरव हुन् । हामी नेपाली संस्कृतिमा धनी छौं । यसै क्रममा वर्ष २०८० को तीज पनि नजिकै आएको छ । हिन्दु नारीले मनाउने एउटा महत्वपूर्ण चाडका रूपमा तीजलाई लिईन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुकासाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । विशेषतः विवाहिता महिलाले श्रीमानको लामो आयु र सुस्वास्थ्यको कामना गर्दै, अविवाहिताले कुसल वरको प्राप्ति, पारिवारिक सद्भाव, एकता र मेलमिलापको मनोकांक्षा राख्दै यो पर्व मनाइन्छ । तर विडम्बना पछिल्ला वर्षमा ,संस्कृतिका नाममा विकृतिले यसरी जरा गाडि सकेको छ कि तीज आउनु भन्दा केहि हप्ता अघि देखि नै होटल,रेष्टुरेण्ट र पार्टी प्यालेसमा दर खाने बहानामा कपडा प्रर्दशनी तथा गहना प्रर्दशनी प्रतियोगीताको झल्को दिने गरेको जस्तो लाग्छ । चाडपर्वको नाममा विकृति बढ्दै छ । नाचगान गरी हर्षोल्लासका साथ मनाउने पर्वमा अचेल खोक्रो आडम्बर र आधुनिकताको प्रभावले विकृति बढेको हो । कुनै समयमा ,तीजमा दिदीबहिनीकाे व्यथा– भावना मनको बह पोख्ने बिसौनी थियो । अहिले डिस्को या पार्टी प्यालेसमा हिन्दी–अंग्रेजी गीतमा नाच्दै तीज मनाउन थालिएको छ ।
आधुनिकताको पछि लागेर संस्कृति भुल्न हुँदैन । गच्छे अनुसार गहना लगाउनु, नाच्नु,खानुपिउनु स्वभाविक हो, तर देखासिकी गर्नु राम्रो होइन । ऋणै काढेर वा अन्य आवश्यक खर्च कटाएर चाडपर्व मनाउनु राम्रो होईन । ठुल्ठुला होटल वा पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रमको आयोजना गर्नुको साटो वृद्धाश्रमका बाआमालाई अनि बाल आश्रमका बालबालिकालाई केही लगाउने वा खाने व्यवस्था गर्दा कति धर्म हुने थियो । तीज मनाऔं तर नेपालीपन, क्षमता र संस्कार बिर्सिएर होइन, संस्कृतिलाई जोगाऔं, विकृति र विसंगति त्यागौं ।