उन्नति चौधरी /नेपालको लिखित ईतिहास रचनेहरुमा अधिकांश शासक जातीहरुको नाम अगाडी आउँछ । भुईमान्छेहरु त केवल जिउदो ईतिहासका गवा (साक्षी) मात्रै हुन । त्यसैले त भुईमान्छेहरुको पहिचान रित्याउनमा पाईलै पिच्छे संघर्ष गर्नुपर्छ । हाम्रो पुर्खाले आर्जेको भुमि अहिले ईट्टा र टायलमा परिणत भयो । बोल्ने भाषा अहिले शासकहरुको लवजमा अनुवाद हुदैछ । पुर्खौदेखि आत्मनिर्भर बनेको सीप भारतको गल्ली गल्ली धाउदैछ । तर अहँ ! हामी कोही बोल्दैनौं, किन कि जो बोल्न खोज्छ उसलाई शासकहरुले आफ्नो कब्जामा लपेट्छ अर्थात आफ्नो ईसारामा लोभ्याउछ । लोभले हाम्रो पहिचान ध्वस्त भईसकेको हुन्छ, तर हामी अत्वपत्व पाउँदैनौं ।
ईतिहासको गवा अर्थात साक्षी खोज्न धेरै टाढा जानु पर्दैन । हामी माघ सप्ताहको वरिपरिमा छौं । अहिले थारु गाउँमा ‘माघ’ को रौनक छ, तर बजारमा भने ‘माघी’ । मैले जोड्न खोजेको विषय बस्तु के हो भने, अहिले मेला महोत्सवको प्रचार प्रसारले समाजिक सञ्जाल रंगिन बनेको छ । गााउँको माघ पर्व भन्दा शहर बजारमा माघी मेला र महोत्सवमा रमाउनेहरुको भिडभाड छ । सामाजिक सञ्जाललाई सुन्दर बनाउन थारु समुदायको ड्रेस काफि सुन्दर, लोभलाग्दो र आकर्षकपनि छ । अहिले थारु गैर थारु सबै सबैले माघी महोत्सव, माघी मेला भन्दै थारु पहिरनमा सजिएर तस्वीर पोष्ट्उन प्रतिस्पर्धामा उत्रिएका छन् ।
मेरो फेसबुकको वालमा देखिने धेरै जसो पोष्ट थारु समुदायका यूवा यूवतिहरुको छ । उहाँहरु कस्को ईशारामा माघलाई माघी बनाई दिईरहेका छन् त ? जिज्ञासा जागेर लेख्न बाध्य भए । आखिर थारु समुदायको ‘माघ’ कसरी भयो माघी ? यो शब्द कहाँबाट सृजना भयो ? किन थारु समुदायमा माघ र माघी शब्दमा विवाद हुदैछ ? खोज्न र बहस गर्न एकदमै जरुरी छ ।
हामी भादा गाउँलाई पुर्खा गाउँको रुपमा पनि मान्दै आएका छौं । किनकी यो गाउँ यस्तो गाउँ हो, जहाँ अहिलेसम्म गैर थारुको बसोबास देखिन्दैन । जसले गर्दा यहाँका पुर्खाहरुलाई हाम्रो भाषाको बारेमा शासक वर्गले त्यति धेरै लोभ्याउन नसकेको पनि होला । म यहि पुसको २५, २६ र २७ गते भादा गाउँमा समय बिताए । जहाँ बुढापाखाहरुसंग भलाकुसारी गर्ने अवसर मिल्यो । उहाँहरु भन्नु हुन्छ, ‘माघ लच्क्यागिल, जिता खोज्न बा । अर्थात माघ आईसक्यो मासुको जोहो गर्नुछ ।’ हाम्रा पुर्खाहरुहरुले गाउँने गितको पनि यस्तो लय छ, जुन आफैमा प्रष्ट छ । यहि दुई चार शब्दले थहाँ हुन्छ कि, थारु समुदाय माघ मनाउँछन् या माघी ।
पुर्खाहरु भन्नु हुन्छ, ‘हामीले गाउँने गित : माघ लहईली, सुरिक सिकार खैली रे हाँ । सखिय हो, माघक पिबि गुरी गुरी जाँर ।’ यो गित पुर्खाले रचेको अनरेकर्डेट गित हो । तर अहिले डिजेमा बज्ने गितहरु त माघलाई माघी बनाईसकेका छन् ।
हो अहिले हाम्रो जिनमा पनि शासक प्रवृति हाबी हुदैछ । हामी उनीहरुको वरिपरि हिडडुल, चाकडी गर्दा गर्दै आफ्नोपन समेत विर्सिसकेका छौं । हामीलाई उनीहरुको लवज, खानपान, संस्कार, रहनसहन प्यारो लाग्न थालिसकेको छ । पहिलो कुरा त उनीहरुलाई हाम्रो हरेक चिज चाहे त्यो भाषा, शब्द रहनसहन, संस्कार सबै सबैमा हस्तक्षेप गर्नुछ । र दोस्रो कुरा, हामीले बोल्ने शब्द उच्चारण गर्नमा कठिनाई । उनीहरुलाई कुनैपनि बहानामा हाम्रो पहिचान मेटाउनु छ । हामी उनीहरुलाई स्मार्ट देख्छौं, र आफूलाई उनीहरु जस्तै स्मार्ट देखाउन आफ्नो आनिबानीमा चेन्ज ल्याउँछौं । त्यसैको परिणाम हो, अहिले आफ्नो पुर्खाले बोल्दै आएको शब्द फिर्ता माग्न लडाई लड्नु परेछ ।
माघ पर्वको महत्व
गाउँ-गाउँमा पुसको अन्तिम दिन सुंगुर काटेपछि थारु समुदायमा माघ पर्व औपचारिक रुपमा शुरु हुन्छ । थारु समुदायले नयाँ वर्षको रुपमा माघ पर्व धुमधामका साथ मनाइरहेका छन् ।
पछिल्लो समयमा माघ सम्पूर्ण नेपालीहरुको पर्व बनेको छ, तर थारु समुदायमा माघ विशेष पर्वको रुपमा मनाइन्छ । पुस मसान्तमा बंगुरको मासु खाने र रातभर जाग्राम बसी धमार गाउने तथा माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा शुल्क तिरेर (पैसा राखेर) नुहाउने चलन छ । घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने चलन थारु समुदायमा रही आएको छ ।
बिहानै नुहाएर आइसकेपछि उनीहरूको सम्मान स्वरुप डेउराहार (देउताको थान भएको घरको सबभन्दा उत्तरपूर्वको कोठा) मा चामल, दाल, तेल, नुन, खुर्सानी, हल्दी आदि अन्नहरू राखिएको हुन्छ, त्यसलाई सबैभन्दा पहिले ३÷३ वा ५÷५ अञ्जुली सबै वस्तु अलग अगल छुट्याउने गरिन्छ । यसरी छुट्याएको भागलाई हामीले निस्राउ भन्छौं । त्यो भाग सके त्यही दिन नसके अन्य कुनै दिन विवाहित छोरीलाई उनकै घर गएर दिने चलन छ । यसले यो उपहारले छोरी र माइतीबीच सद्भाव कायम बढ्छ ।
थारु समुदायले माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै विताउने गर्दछन् । दिउँसोभरि आर्शिवाद थाप्ने र मिठो मसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने गरिन्छ । माघ महिनासंगै नयाँ आर्थिक वर्ष शुरु भएकाले थारु समुदायले माघ २ गतेदेखि अघिल्लो वर्षको समिक्षासंगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकी÷चौकीदार) को जिम्मेवारी हेरफेरमा जुट्ने गर्दछन् ।
माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तर जिम्मेवादी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ । पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्दतिद्वारा अनुमोदन गर्ने र गाउँमा एक वर्षकोलागि नयाँ नियम बनाउने चलन छ ।
थारुहरूको घरभित्र भने छोराछोरीको विहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको छ । विगतमा थारु समुदायमा रहेको कमैया÷कमलरी राख्ने कुप्रथा पूर्ण रुपमा हटेको छ । पहिला पहिला कमैयाँ बस्नकोलागि मालिक परिवर्तनपनि गरिन्थ्यो ।
थारु समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म यी सबै काम गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरू काममा फर्किने गर्दछन् । काम गर्दै जाँदा माघमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसंग बाझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाई छलफल गर्ने र संशोधन गर्ने चलन थारु समुदायमा छ ।
संस्कृति जोगाउने जिम्मा महिलालाई
थारु समुदाय कला संस्कृतिमा धनी मानिन्छ । पहिले पहिले थारु समुदायमा महिलाहरु नाच्न र गाउँनमा त्यति धेरै खुलेका थिएनन् । जुनबेला पुरुषहरु आफै महिलाको भेषमा नाच्ने गर्थे । पछिल्लो दुई दशक यता महिलाहरुपनि संस्कृति जोगाउन तर्फ जुर्मुराए । अहिले हरेक ठाउँमा चाहे सभा सम्मेलन होस् या मेला महोत्सवमा संस्कृति झल्किने पहिरन, नाच, खानपिन लगायतको जिम्मेवारी महिलाले नै समाल्दै आइरहेका छन् ।
माघमा गाईने धमारहरू डफ (डम्फु) र मादल बजाउँदै रातभरि जाग्रम बस्छन् । “क्याम्प फायर गरेर वरपर गाउँका इच्छुक सबैले बसेर भाले नबासुन्जेल गित गाउँछन् । भाले बासेपछि नुहाउनतिर लाग्छन् । त्यही डम्फुसहित धमार गाउँदै नुहाउने ठाउँसम्म पुग्छन् र नुहाइसकेपछि आ–आफ्नो घरतिर आर्शिबाद लिन पुग्छन् । माघ १ गतेदेखि नै मघौटा नाच, झुम्रा नाच नाच्ने गर्दछन् ।
तर त्यहि दिन उहि समयमा महिला खाने कुराको परिकार बनाउनमा व्यस्त हुन्छन् । जब विहान हुन्छ अनि त्यहि महिला कला संस्कृति जोगाउन लेहंगा चोलिया र फरियामा सजिन्छन् । मेला महोत्सवमा उनै महिला पुरुषहरुलाई रामाईलो गर्न तर्फ तल्लिन हुन्छिन् ।
यो दृष्य एक विकृतिको रुप लिएको देखिन्छ । महिलाहरुलाई राम्रो कामको जिम्मेवारी दिइएको देखिन्दैन तरपनि महिला खुशी छन् । यसको अर्थ महिलाहरुले कस्तो जिम्मेवारी समाल्नुपर्छ भन्ने सवालमा अझैपनि अनविज्ञ छन् । त्यसले अब आउने माघ पर्वले जिम्मेवारी बाँडफाँडमा महिला पुरुष दुबैलाई बराबरी जिम्मेवारी दिईयोस् । चाहे त्यो गाउँ सम्माल्ने जिम्मेवारी होस्, या संस्कृति । माघ पर्वको सबैलाई शुभकामना ।