सत्ति / टीकापुर नगरपालिकाको १४औं नगर सभा शनिबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको नगर सभा बाट वडा नं १ लाइ चार वटा वडामा विभाजन गर्ने प्रस्ताव वडा नं १का अध्यक्ष मोहन लुहार वि.क.ले पेस गरेका थिए ।
सभा बाट वडा नं. १ लाई चार भागमा विभाजन गर्ने निर्णय सर्व सम्मत पारीत भएको छ ।
४६ हजार ६ सय ९८ जनसंख्या रहेको वडा नं. १ लाई चार वडामा विभाजन गर्ने निर्णय आवश्यक भएको र विकास संगै जनताका सेवा प्रवाह छीटोछरितो हुने वडा नं १ का अध्यक्ष मोहन लुहार वि.क.ले बताए ।
वडा विभाजनमा विमति नभए पनि थपिए संगै प्रशासनिक खर्च बढ्नेमा नगरसभा सदस्य दिपक निशानीले चिन्ता व्यक्त गरेका थिए । स्थानिय तहमा निर्वाचित जनप्रतिधिले वडा विभाजन गर्न चाहेमा आफु चुनिएको २ वर्ष भित्र वडा विभाजन गर्न चाहेमा संघीय सरकारमा पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ९८ हजार जनसंख्या रहेको टीकापुर नगरपालिकाको १ नं वडामा मात्रै ४६ हजार बढी जनसंख्या रहेको छ ।
सभाले वडा नं.१ को जमरा पुल पारी क्षेत्रलाई एउटा वडा बनाउने निर्णय गरेको छ । जसको क्षेत्रफल ७.२५ वर्गकिलोमिटर रहेको छ ।
त्यस्तै ब्लक नं. ९, १०, ११, १२, १३,१५,१६,२२,२३ र व्यवसाय क्षेत्र अर्को वडा हुने छ यस्को क्षेत्रफल २.५३ वर्ग किलोमिटर क्षेत्र समेटेर अर्को वडा बनाउने निर्णय गरेको हो ।
ब्लक नं ४,५,६,७ ८ ,२४,२५ वनगाउँ र छेगरखैला अर्को वडा हुनेछ । यस्को क्षेत्रफल ५.५३ किलोमिटर हुनेछ । यसैगरी ब्लक नं ए,बी,सी,१४ ,१७, १८,१९ , २०,२१ जमरावारी शक्ति नगर र शिव नगर सम्मका शिविर क्षेत्र अर्को वडा बनाइनेछ । यसको क्षेत्रफल ४.७१ किलोमिटर रहेको छ । लामो समयदेखि वडा विभाजन हुनुपर्ने स्थानीयबासीले माग गर्दै आए पनि हुन सकेको थिएन ।
नगरप्रमुख रामलाल डगौरा थारुले नगरपालिका को आधा जनसंख्या रहेको १ नं वडाका नागरिक लाई सहजरुपमा सेवा प्रवाह गर्नका लागि वडा विभाजनको निर्णय गरिएको बताए । ‘हामीले यहाँका राजनीतिक दलसँग पनि परामर्श गरेर भुगोल र क्षेत्रलाई मिलाएर चार वडामा विभाजन गर्न नगरसभा बाट निर्णय गरेका छौं’ नगर प्रमुख थारुले भने ।