कविता – आमा!!
पिडा सायद उस्तै थियो होला है आमा
तिम्रो अनि मेरो र अरु आमा हुनेहरुको पनि
त्यतिबेला मैले बुझ्दै बुझिन ,बुझ्ने कोशिश नि गरिन
मलाई यस्तो ,मलाई उस्तो किन भन्दै मैले गर्ने प्रश्नहरुमा
हो आमा हिजो हजुर मौन भएर नदिएका हर प्रश्नका
जवाफहरु म संग आज छ्न र मलाई पनि
त्यस्तै प्रश्न आउदा हिजो तिमीले अप्नाएको
मौनता आज म कठिन र जटिल हृदय जलाउदै
अप्ठ्यारो मौनतामा मात्रै तिमीलाई महशुस गरिरहेको छु।
म त्यो बल्दै गरेको दियोको बाती झै जल्दा मात्रै आज ति
हिजोका जलन स्पर्स गरिरहेकी छु आमा।
मेरा खुशिका निम्ती तिम्रा ति अहोरात्र खटिएका
समय अनि ति दुख दर्दमा भित्र भित्रै रातभरि
ओछ्यानमा छट्पटी गरेका पल आज मात्रै
मैले अनुभुति गरे आमा।मेरै सुख र खुसि खोज्दै
आज पनि तिमी लठ्ठीको साहारामा मेरो दैलोमा
सुखका सगुन र मेरा आँगनमा शान्तिको फूल रोप्न
आईरहेकी छौ आमा !!अहोभाग्य आमा
आज पनि म मेरा हरेक आबश्यकतका ब्यथा
तिम्रो पोल्टोमा हाल्दै तिम्रै काखमा लुट्पुटिदै
तिम्रै हातले दुध भात मुसेर कोखाई कोखाई
गर्दै तिम्रो ममताले मेरा भोक र तिर्खा मेटाई रहेछु आमा।
जब मैले कोखमा बोकेर हलचल गर्न सकिन
अनिदा रात र दिन कटाउन सकिन
जब मैले प्रसव पिडाले बज्जारिदै
लडिबुडी गर्दै ,आफूलाई संयमित पार्न सकिन
हो आमा त्यतिबेला मैले आमा हुनुको अर्थ बुझे
आमाको ममता बुझे आमाको समर्पण बुझे।
प्रत्येक कुनै पल छैन होला आज म आमा भएर
आमा बनेकी बनिन ,तिमी जस्तो हुन सके कि सकिन
तर म आज हिजो मैले कोखबाट जन्माएकी मेरो सन्तान
मैले पिडा सहन नसकेर बेहोस भएर जब होस पाएँको थिए
मेरो प्रश्न थियो के जन्माए भनेर?
लक्ष्मी !!जन्मेकी छिन हेर तँ
म भक्कानिएर रोएकी थिएँ
किन थाहा छ?
फेरि अर्कोपटक पनि मैले सन्तान जन्माउनु पर्नेछ
दश महिना सकस खेप्न पर्नेछ
रातदिन कटाउन ,मरेर ज्युनु पर्दछ
वाकवाकी लागेर पेट थिच्नु पर्नेछ
पिड्युल्ला फर्केर चिच्याउनु पर्नेछ
आदै आदि थुप्रै ब्यथा खप्नु पर्नेछ।
बिभेदले रोएकी थिईन म
छोराछोरीको फरक दृस्टिमा रोएकी थिईन म
म रोएकी थिए यस कारण कि पुनः
गर्भवती हुनु पर्नेछ मैले
घर परिवारले मलाई दोस्रो गर्वकोलागी बाध्य गराउनेछ्न।
यावत कुरामा म रोएकी थिए र आमा तिमीलाई कती
अनुभुती गरेको थिएँ ।
आज तिनै मेरी छोरी,मेरी आँखाका नानी
मेरो संभावना ,मेरो सुन्दर सन्सारको ज्योति
मेरो आँगनको फूल ,मेरो एउटा आँखा
म आमा हुनुको अर्थ
मेरो स्वाभिमान
मेरो सगरमाथा
मेरो छोरी तिमीलाई
म सम्झेर म आमा हुनुको अर्थ महुशुस गरी रहेकी छु
मेरी आमा म तिमीलाई म हुनुको अर्थ भेटी रहेको छु
मेरी आमा हो म तिमीलाई सन्तान हुनुको
र सन्ततिको आमा हुनुको अर्थ अनुभुत गरिरहेकी छु
साच्चै मेरी आमा तिमीलाई मातृ दिवसको शुभकामना
छोरी !!तिमीलाई म आमाले पनि मातृदिवसको हार्दिक शुभकामना !!