मलेरिया विभिन्न प्रजातिका हुन्छन् । त्यसमध्यको एक प्लाज्मोडियम फ्याल्सिपेरम एउटा प्रजातिको मलेरिया हो । यो कडा किसिमको हुन्छ ।
समयमै यसका विरामीले उपचार नपाएको खण्डमा मान्छे मर्न पनि सक्छ । त्यस्तै यसको राम्रोसित उपचार नगरे यो एक व्यक्तिबाट सयौं व्यक्तिमा सजिलै सर्ने गर्छ । प्लाज्मोडियम फ्याल्सिपेरम मलेरिया प्रचुर मात्रामा हुने ठाउँमा सिकलसेल ऐनिमिया देखिएको छ ।
वैज्ञानिकहरुले यसलाई कसरी एक आपसमा सम्बन्धित गरेका छन् भने शरीरले प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नको लागि हाम्रो मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भई सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ ।
किनभने हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैैन । त्यो मलेरियाको प्रतिरोधको लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ ।
आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको पाइएको छ।
कपिलवस्तुदेखि पश्चिमका थारु समुदाय पीडित
यो खानपानको कारणले हुँदैन । यो पूर्णतया वंशाणुगत हो । यो रोगमा यदि बुवा-आमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल कुनै हालतमा पनि हुँदैन । तर, यदि दुबैमा छ भने उनीहरुबाट जन्मने बालबालिकामा पनि देखा पर्ने गर्छ । अहिलेसम्म देखिएकामध्ये कपिलवस्तुदेखि महाकालीसम्मका थारु समुदायका मानिसहरुमा यो रोग फैलिएको छ । जबकी पूर्वी भागमा यसको प्रकोप खासै देखिएको छैन । यो किन भइरहेको छ भनेर यकिन भन्न गार्हो छ । किनकी नेपालमा यस सम्बन्धी विस्तृत अध्ययन अनुसन्धान नै भएको छैन । सबै थारु समुदायमा पनि यसबारे अनुसन्धान गरिएको छैन ।
यसका रोगी उपचारका लागि आएमात्र रोगको पहिचान गरी उपचार गर्ने गरिन्छ । जो रोगवहाक हो, जसको जीन खराब छ तर ऊ स्वस्थ्य छ, त्यस्ता जनसंख्या नेपालमा धेरै छन् । तिनीहरुमै रोग बढी देखिएको छ ।
सिकलसेलको लक्षण
सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदै जान्छ । हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । धेरै पीडा हुन्छ । साथै जण्डिस पनि देखा पर्छ । पेट दुख्छ । जाडोयाममा प्रायः बालबालिकालाई निमोनिया हुने गर्छ । कतिपय बालबालिकामा सिकलसेल रोग पहिचान हुनु पूर्व नै निमोनियाबाट मर्ने गर्छन् । ५० प्रतिशत बालबालिका सिकलसेल पहिचान नहुँदै निमोनियाबाट मर्ने गर्छन् ।
त्यस्तै पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ । यसले आँखामा समेत असर पार्छ ।
समग्रमा थारु जातीका किशोर किशोरीमा यी लक्षण देखा पर्ने हुँदा उनीहरुमा यी लक्षण देखा परे चाँडो भन्दा चाँडो रोगको पहिचान गरी उपचार गर्नु आवश्यक छ ।
सिकलसेलको उपचार
यसको यकिन उपचार त छैन । तर, समयमा रोगको उपचार भयो, औषधि भयो भने यो रोग चाँडै निको हुन सक्छ । त्यस्तै यस्ता रोगका विरामीको पाचन शक्ति कमजोर हुने भएकाले बच्चाहरुलाई दुई-दुई वर्षमा निमोनिया विरुद्धको खोप दिनुपर्छ । उनीहरुलाई बेला-बेलामा रगत चढाउनु पर्ने हुँदा समय-समयमा रगत जाँच गर्नुपर्छ । बच्चाहरुलाई निमोनियाबाट बचाउनु पर्ने हुँदा पेनेसिलिनको चक्की दिने, रगत बढाउन फोलिक एसिड दिइन्छ ।
धेरै गर्मीको मौसममा यस्ता रक्त कोषिका हसिया आकारमा परिणत हुने गर्दछ । त्यसैले धेरै चिसो तथा तातोबाट पनि रोगीलाई बचाउनु पर्छ ।
धेरै ज्वरो आएमा पनि विरामीलाई यो रोगले च्याप्ने हुँदा चिकित्सकहरुले धेरै पानी पिउन विरामीलाई परामर्श दिने गर्दछन् । त्यस्तै झोलिलो, पासिलो खानेकुरा खान सुझाव दिइन्छ । धेरै समस्या भएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकी अथवा स्वास्थ्य संस्थामा गएर जचाउनु पर्दछ । यतिमात्र गर्न सकेपनि धेरै विरामीको ज्यान बच्न सक्छ ।
(प्रो. डा. कायश्थ हाल वीर अस्पतालमा कार्यरत छन् ।)