लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

निद्रा के हो र शरीरलाई यो किन आवश्यक छ ।

एजेन्सी / प्रकृतिले मानिस लगायत अन्य प्राणी र वनस्पतिलाई खाने, काम गर्ने, आराम गर्ने र सुत्ने अलग-अलग समय प्रदान गरेको छ । उसैले समयमा खान, खेल्न, शरीरिक परिश्रम गर्न, रमाउन र गहिरो निद्रा लिएर स्वस्थ रहने व्यवस्था मिलाएको छ ।
प्रकृतिले मानिसलगायत पशुप्राणी र वनस्पतिलाई बाच्न र स्वस्थ जीवन जिउन सहज होस् भनेर नै रात र दिनको व्यवस्था गरेको हुनुपर्छ । जसरी हामीलाई पोसिलो खाना, शुद्ध हावा र पानी आवश्यक हुन्छ त्यसरी नै गहिरो निद्रा पनि । संसारका धेरै मानिसहरु निद्रा नलाग्ने समस्याबाट ग्रसित छन् ।
मानव अरु प्राणीभन्दा धेरै सक्रिय रहने, लामो समय काम गर्ने र सफलता हात पार्ने दौडमा हुन्छ । ऊ रातदिन नभनी काममा व्यस्त रहन्छ । समयमा स्वस्थवर्द्धक खानेकुरा खान र समयमा सुत्न या निदाउँनसम्म बिर्सिन्छ । यस्तो मेहेनतबाट उसले आर्थिक र सामाजिक हैसियत त बनाउँछ तर स्वस्थ्य भने धेरैको बिग्रिसकेको हुन्छ । यसै प्रसंगमा दलाई लामाले भनेका छन्- मानिस सम्पत्ति कमाउन, समाजमा आफ्नो नाम कमाउन रातदिन नभनी काम गर्छ । समयमा खान, सुत्न, खुसी हुन,रमाउन, गहिरो निद्रा लिन बिर्सिन्छ । जब शरीर बिरामी पर्न थाल्छ त्यही कमाएको सम्पत्ति लिएर उपचारमा लाग्छ । केहि छाडेर धेरैले न जीवनको आनन्द लिन पाउँछन्, न स्वस्थ्य रहन सक्छन् । अन्त्यमा पैसा पनि सकिन्छ स्वास्थ्य पनि पूर्ण ठीक हुँदैन ।’ हो आजको समयमा धेरै मानिस को यही अवस्था छ ।
निद्रा के हो ?
निद्रा एक प्रकारले केही समयका लागि जीवनका सबै कुराहरु बिर्सिएर विश्रामको अवस्था हो । प्रकृतिद्वारा नियोजित तथा निर्धारित स्थितिको नाम हो निद्रा । यसलाई कति विद्वान्‌ले त एक प्रकारको छोटो मृत्यु हो भनेका छन् । औसत ६ देखि ८ घण्टासम्म हामी कुनै पनि प्रकारको दुःख, पीडा, भोक, प्यास, श्वासप्रश्वास, धड्कन या अन्य केही महसुस गर्न सक्दैनौं । शरीर एक प्रकारले मानौं मृतजस्तो अवस्थामा रहन्छ । तर धिमी रुपमा श्वासप्रश्वास, मुटुको धड्कन, एकदमै कम मात्रमा पाचनक्रिया र शरीररको वृद्धि विकास भने चलिरहन्छ जनु हामीले थाहा पाउँदैनौं । यो अवस्थामा हामीले हामीभित्र रहेका या गुम्सिएर बसेका जीवनमा कुनैबेला महसुुस गरेका या नगरेका घटनाहरु सपनामार्फत बाहिर आउँछन् । यसलाई आत्माको जागरण भनेर पनि कति विद्वान्‌ले व्याख्या गरेको पाइन्छ । त्यसैले निद्रा भनेको शरीर र मनमस्तिष्कको शुद्धीकरण, शक्ति सन्तुलन र हर्मोनहरूलाई सामान्य अवस्थामा ल्याएर भोलिका लागि नयाँ जीवन प्रदान गर्ने प्राकृतिक नियम हो । र सपना भनेको अवचेतन मनमा बसेका विभिन्न अतृप्त इच्छा‚ आकांक्षा बाहिर निस्किने माध्यम हो । अथवा यस्ता दबिएर बसेका अतृप्त इच्छा सपना बन्ने गर्छन् । र सपना देख्न निदाउनैपर्छ र यो आवश्यक पनि हो । जीवन बदल्ने सपना विपनामै बन्दछन् भने शरीरभित्र गुम्सिएर बसेका कुराहरु निदाएर देखिने सपना मार्फत बाहिर आउँछन् । निद्रा लगाउने हर्मोन उत्पादन गर्ने ग्रन्थीको नाम हो पीएनएल । यो ग्रन्थी जीवनभर सक्रिय रहन्छ तर उमेरसँगै केहि कम सक्रिय रहँदा बुढेसकालमा कम समय निद्रा लाग्छ ।
निद्रा कसरी र किन लाग्छ भन्ने विषयमा विभिन्न वैज्ञानिक खोजहरू भए । विभिन्न अनुसन्धानहरू गरिए । निदाएका मानिसका शरीरमा अनेक प्रकारका परीक्षण गरिए । शास्त्रहरूको गहिरो अध्ययन गरियो । अन्त्यमा निद्रा हाम्रो शरीरको एउटा महत्त्वपूर्ण आवश्यकता हो, प्रकृतिद्वारा नियोजित तथा निर्धारित स्थितिको नाम हो, निद्राको आवश्यकता हामीलाई स्वस्थ राख्न प्रकृतिले प्रदान गरेको उपहार हो भन्ने निष्कर्षमा पुगियो । हाम्रो शरीरलाई स्वस्थ राख्न र वृद्धिविकास गर्न विभिन्न प्रकारका हर्मोनको निष्कासन शरीरमा रहेका विभिन्न ग्रन्थीमार्फत हुने गर्छ । यी हर्मोनले शरीरको आवश्यकता‚ जस्तैः भोक, निद्रा, मैथुन, शरीरको विकास, खुसी, आनन्द, सेवा सत्कार, ज्ञान आर्जन, परोपकारी भावनाको विकास, आपत्‌काललगायत अनेक विषयको सम्बोधन गराउँछन् ।
आजसम्मको अध्ययन र अनुसन्धान अनुसार हाम्रो शरीरमा उत्पादन हुने ल्याक्टिक एसिड नामक तत्त्वले शरीरमा सक्रियता ल्याउँछ । यसको उत्पादनमा कमी भएमा शरीरमा थकान महसुस हुन्छ । यो तत्त्व विशेष गरेर बिहान र दिउँसो धेरै उत्पादन हुन्छ र हामी काममा मन लगाउँछौं । अथवा काम गर्न मन लाग्छ । यसको उत्पादनमा कमी आएमा आलस्य आउँछ । काम गर्न मन लाग्दैन । कोर्टिसोन हर्मोन अचानक आउने या देखापर्ने असहज अवस्था या तनावलाई म्यानेज गर्न वृद्धि हुन्छ । तर लामो समय यही अवस्था रहिरहेमा कोर्टिसोनले शरीरमा हानी पुर्‍याउँछ । यसरी नै खुसी हुने या खुसी रहन सक्ने हर्मोन सेरोटोनिन हो । यसको उत्पादनमा कमी आएमा खुसी हुन या रमाउन कठिन हुन्छ । यता सेक्स हर्मोनहरुको कमी भएमा यौनमा कमी आउछ जसले नैराश्य आउन सक्छ । हो यसरी नै निद्रा लगाउने हर्मोन हो मेलाटोनिन । यो हर्मोन बेलुका हुँदै गएपछि बढ्दै जान्छ र ल्याक्टिक एसिड कम हुँदै जान्छ । त्यसैले जति बेलुका हुँदै गयो शरीर शिथिल हुँदै जाने र निद्रा लागेको महसुस हुन्छ । हुन त भोक लागेको बेलामा पनि मस्तिष्कमा गुलकोजको मात्रा घट्न गएर आलस्य आउँछ र खान खाएको केहि समयपछि पनि आलस्य देखापर्छ । तर यो म्यानेजमेन्टको पाटो हो र क्षणिक हुन्छन् । तर हामी सुतेपछि मजाले गहिरो निद्रामा रहनका लागि मेलाटोनिन हर्मोनको आवश्यकता पर्दछ । यही हर्मोनको कमी भएमा निद्रा कम भएर जान्छ र राती राम्रोसँग निदाउन सकिँदैन । निदाए पनि गहिरो निद्रा पर्दैन र हामी विभिन्न सपना देख्ने गर्छौं । र हाम्रो शरीरमा हुने प्राकृतिक शुद्धीकरण पनि राम्रोसँग हुन पाउँदैन । बिस्तारै हामी रोगको सिकार हुँदै जान्छौं । त्यसकारण पनि मेलाटोनिन हर्मोनको आवश्यक उत्पादन हुनु अनिवार्य हुन्छ ।
मेलाटोनिन हर्मोनको उत्पादनमा कमी आउने विभिन्न कारण हुन्छन् । यस्ता कारणहरू हामीबाटै जानी नजानी उत्पन्न भइरहेका हुन्छन् । प्रकृतिले मानिसलाई दिउँसो काम गर्न, खान, घुम्न, रमाउन र राति सुत्न अथवा निदाउन दिन र रातको व्यवस्था मिलाएको मानिन्छ । यदि हामी यो नियमलाई उल्लंघन गर्छौं भने पक्कै पनि निद्रालगायत अरु शरीरिक समस्याबाट पनि ग्रसित हुन पुग्छौं । जो आजकल धेरै मानिसमा देखिएको छ । शरीरिक परिश्रम त छँदै छ मानसिक तनाव अनि मादिरालगायत गरिष्ठ भोजन या शरीरिक परिश्रम शून्य भएको अवस्थामा पनि यो हर्मोनको निष्कासन कमी हुन पुग्छ‚ जसका कारण निद्रा नलाग्ने सम्भावना वढी रहन्छ ।
निद्रा नलाग्ने अरु कारणमा सुत्ने समयको एकरुपता नहुनु हो । साँझ परेपछि २ घण्टापछिको समयलाई सुत्नका लागि सबैभन्दा उत्तम समय मानिन्छ । पहिले पहिले यही हुन्थ्यो । मानिसहरू बेलुकाको ८ नबज्दै ओच्छयानमा गइसक्थे । बिजुली थिएन । टुकी निभाएपछि अन्धकार हुन्थ्यो । जति अन्धकार र सुनसान हुन्छ त्यति नै मेलाटोनिन हर्मोन रिलिज हुन्छ जसले गहिरो निद्रा लगाउन सघाउँछ । तर आजको समय त्यस्तो छैन । साँझ परेर बल्ब बालेपछि मात्र भान्सामा खाना बनाउन सुरु गरिन्छ । खाना खाँदा खाँदै ८, ९ वा १० बजिसक्छ । खानेबित्तिकै सुत्ने पनि कुरा भएन । तुरुन्तै सुत्नु स्वास्थ्यका लागि हानीकारक हुन्छ । खाना खाएको कमसेकम २ घण्टापछि मात्र सुत्नु उत्तम मानिन्छ । यसको अर्थ त्यस्तै १०, ११ या १२ बजिहाल्छ । त्यतिबेलासम्ममा प्राकृतिक रुपमा निस्कने मेलाटोनिन हर्मोन पनि विचलित हुन्छ । राम्रोसँग निस्किन सक्दैन । फलस्वरुप गहिरो र कमसेकम ६ घण्टा सुताइ नहुन सक्छ । फेरि बिहानको आफ्नो दैनिकी कतिबेला सुरु हुनेवाला छ त्यहीअनुसार शरीराम सक्रिय हुने लेक्टिक एसिडको सिक्रिसन बढ्न थाल्छ । त्यसैले पनि बिहान चाँडै निद्रा खुल्छ र हामी उठ्न बाध्य हुन्छौं । यसरी दिनहुँजसो यही क्रिया दोहोरिन गएमा हाम्रो स्वास्थ्य कस्तो होला ? हामी कल्पना गरौँ । आजकल ८० प्रतिशत मानिसमा यही चलिरहेको छ । राम्रोसँग निद्रा नलाग्ने कारणमा समयमा नसुत्ने एउटा प्रमुख कारण देखिएको छ । त्यसैले सुत्ने समय बेलुका जतिसक्दो चाँडो हुनुपर्छ र बिहान चाँडै उठ्नुपर्छ । यो बानीले हामीलाई स्वस्थ रहन प्रमुख भूमिका खेल्छ ।
निदाउन अपनाइने तरिकाहरू धेरै छन् । जस्तै चाँडै सुत्ने । सुत्ने ओच्छ्यान सफा र सिरानी पूर्व या दक्षिण हुनुपर्छ । सुत्ने खाट या पलङलाई सुत्नका लागि मात्र प्रयोगमा ल्याउनुपर्छ । धेरै अग्लो र बिजाउने सिरानी हुनु हुँदैन । सुत्ने कोठामा बाहिरको उज्यालो सकेसम्म नआउने र बत्ति निभाउँदा पूरै अध्यारो हुनुपर्छ । उज्यालो चाहिने नै भए रातो बल्ब राख्नुपर्छ । यसले मेलाटोनिन हर्मोन उत्पादनमा सघाउँछ । नीलो, सेतो आदि बल्बले हर्मोन उत्पादनमा असर पुर्‍याउँछन् । आवाज सकेसम्म नआउने हुनुपर्छ । सुत्दा साँघुरो गरी या घुर्ने साथी भए निद्रा बिग्रिन सक्छ । सजिलै निद्रा नआउने मानिसले चाँडै सुत्नमा जोड गर्नु राम्रो हुन्छ । साँझ परेपछि विशेष गरेर कफी पिउनु हुँदैन । यसले मेलाटोनिनलाई कम गराउँछ । सुत्ने कोठाको तापक्रम १६ देखि २० डिग्री सेल्सियस भएमा उत्तम मानिन्छ ।
सुत्नुअघि मेडिटेसन गर्नु, दुई घण्टा अघि मनतातो पानीले नुहाउनु राम्रो मानिन्छ । सुत्नुअघि सकारात्मक कुराहरु मनमा ल्याउनु, सेवा, दान र अरुको सहयोगजस्ता कुराको सञ्चार भएमा मन खुसी हुन्छ । यसले शरीरमा सकारात्मक प्रभाव बढी देखिन्छ र कोर्टिसोन नामक तनाव बढाउने हर्मोन लेबल शरीरमा घटेर जान्छ । मेलाटोनिन हर्मोन बढेर आउँछ र मीठो निद्रा लाग्छ । कुनै सुन्दर सिनेमा हेर्ने या सकारात्मक पुस्तक पढ्ने गर्नु पनि निद्रा ल्याउने उपाय हुन् । यसरी नै सुत्ने पोजिसनको पनि ठूलो भूमिका रहन्छ । सबैभन्दा राम्रो देब्रे कोल्टे सुत्नुलाई मानिन्छ । यसले शरीरमा रक्तसञ्चार पनि नियमित राख्छ । यस्तो हुँदा मुटुको गति नियन्त्रण गर्छ‚ पाचन राम्रो हुन्छ र डराउने सपनाहरू कमै देखिन्छ । दोस्रो उत्तम सुताइ भनेको उत्तानो सुत्नु हो । मोटा मानिस र नाकको समस्या हुनेहरु यो पोजिसनमा घुर्न सक्छन् । तर पनि दाहिने कोल्टे र घोप्टो सुत्नु भन्दा राम्रो मानिन्छ । दाहिने कोल्टे सुत्नु उत्तम मानिदैन । यो सुताइले पाचन विग्रिने र रक्तसंचारमा समस्या आउने हुन्छ । गहिरो निद्रा आए पनि असहज हुन सक्छ । यसरी नै घोप्टो सुत्नु मात्र स्वासप्रस्वासको समस्यालाई सहज बनाउन सघाउँछ । यो बाहेक घोप्टो सुताईले अरु फाइदा नहुने बैज्ञानिको बुझाई छ । तर पनि हरेक व्याक्तिको आफ्नै रुची र सहजता हुने हुँदा यही पोजिसन सबैलाई उत्तम हुन्छ भन्न कठिन हुन्छ । चाहे जे होस मानिसले स्वस्थ रहनु छ भने समयमा खाने । ठिक्क खाने र सकेसम्म चाडो आफ्नो सहजताअनुसार सुत्नु राम्रो हो ।
आजको समयमा धेरै मानिसहरु निद्रा नलाग्ने समस्या लिएर डाक्टर, धामी‚ वैद्यकोमा धाएको देख्न सकिन्छ । के कारणले निद्रा लागेन भनेर कारण खोज्नु उचित हुन्छ । वैज्ञानिक अनुसन्धानअनुसार शरीरमा कम र खुकुला कपडा लगाएर सुत्नुपर्छ । अझ बिनावस्त्र सुत्नु उत्तम मानिए पनि पूर्वीय सभ्यतामा यसलाई राम्रो मानिँदैन । धेरै मानिसमा निद्रा नलाग्ने मनोवैज्ञानिक कारणहरू पनि हुन सक्छन् । वंशाणुगत समस्याहरू पनि हुन सक्छन् । राम्रो निदाएर पनि आफू निदाउन नसकेको भान पनि हुन सक्छ । कसैलाई डराउने सपना आएका कारण, यौन असन्तुष्टिका कारण, पारिवारिक तनाव या एक्लै बस्नुपर्ने कारणले पनि निद्रा नआएको हुन सक्छ । यस्तो भएमा कारणहरुको बिस्तारै सामाधान खोज्नुपर्दछ । जीवन भनेको भोग्न आइएकै हो । सहज रुपमा भोग्नुपर्दछ । खाली हात र नांगै आएको अनि उस्तै जाने हो भन्ने कुराको स्मरण सधैँ रहनुपर्दछ । धनसम्पति भनेको साधनमात्र हो भन्ने बुझ्नुपर्दछ ।
उमेर अनुसार कति घण्टा निदाउनुपर्छ भन्ने कुरा जान्नु पनि आवश्यक हुन्छ । हुन त हरेक मानिसमा यति नै घण्टा सुत्नुपर्छ भन्ने हुँदैन । उसको काम, शरीरिक सक्रियता र खाना आदिमा पनि भर पर्दछ । भरखर जन्मिएको शिशु औसतमा १६ देखि १८ घण्टासम्म निदाउँछ । शिशु ४ वर्षको हुँदा ११ देखि १२ घण्टा निदाउँछ । विद्यालय जाने बच्चा १० देखि ११ घण्टा‚ युवक ८ देखि १० घण्टा निदाउँछ भने वयस्क ७ देखि ८ घण्टा अनि वृद्धवृद्धा ५ देखि ६ घण्टा औसतमा निदाउँछन् अथवा निदाउनुपर्छ । यसमा पनि गहिरो निद्रा भए केहि कम समयले पनि निद्रा पुग्छ । यदि ब्युझिँदै-निदाउँदै गरेको अवस्थामा भने ८ घण्टा सुते पनि फ्रेस नभएको महसुस हुन्छ ।
त्यसैले निद्रा भनेको जीवनको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता हो । कसरी निदाउने र कति निदाउने भन्ने कुरा हाम्रै हातमा हुन्छ । केहि असहज अवस्था बाहेक हाम्रो जीवनको मालिक हामी नै हौं । हामीले जसरी चलायो, जे सोच्यो, जे खायो शरीरले त्यसैको प्रतिक्रिया शरीरले दिने हो । हामीले असल सोच र समान्य तर सफल जीवन जिउने बाटो अँगाल्यौँ भने स्वास्थ्य पनि राम्रो रहन्छ । गहिरो निद्रा पनि आउँछ । सुखी जीवन पनि जिउन सकिन्छ ।


प्रकाशित : २०८० असार २१ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप